×

माओवादीले तीन महिने अभियान चलाउने, कार्यविभाजनबारे निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षलाई

images

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुले पाएका छन् । मंगलबारको पदाधिकारी बैठकले कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिएको हो ।

१२ माघमा सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो । उक्त कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको माओवादी केन्द्रका नेता पेशल खतिवडाले जानकारी दिए। साथै माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ । पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरेका हुन् । 


‘अब तीन महिने कार्यक्रम बनाएर सबै केन्द्रीय सदस्य, जनवर्गीय संगठनका नेता र पार्टी सदस्यहरु जनताको बीचमा जाने भन्ने प्रस्ताव गरिएको छ । तीन महिनासम्म जनताकै बीचमा जाने, जनताका विकास निर्माण तथा योजनाका काम गर्ने र जनताको दुख सुखसँग साझेदारी भई काम गर्नुपर्ने छ,’ पार्टी सचिव दिनानाथ शर्माले भने, ‘जनताकै बीचमा आटो मिठो खाने, ढिँडो फाँडो खाएर काम गर्ने भन्ने छ । यतै काठमाडौं  सिंहदरबार र मन्त्रालय धाउने होइन । सदरमुकाम पनि बस्ने होइन गाउँमै बसेर संगठन निर्माणमा लाग्ने भन्ने छ ।’ 

अब सबै केन्द्रीय सदस्यहरु गाउँमै बसेर जनताका काममा जोडिनु पर्ने प्रस्ताव गरिएको शर्माले बताए । केन्द्रीय सदस्यहरुले थानकोट काटेर काठमाडौं पस्न समेत नपाइने उनले बताए । सरकारका काम कारबाहीलाई जनतासँग जोडेर काम गर्न नेताहरु परिचलान हुनुपर्ने भएको छ । पार्टीका अधिकांश नेताहरु काठमाडौं र सदरमुकाम मात्रै बस्दा संगठन बिग्रेको निष्कर्ष निकाल्दै माओवादीले तीन महिने अभियान चलाउन लागेको हो ।

मङ्गलबार १७ माघ २०७९ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया