×

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह नपाए सरकार छाड्न सक्ने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका हुन् ।

लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् । प्रचण्डले  भेटवार्तामा रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ । 

साथै प्रचण्डले  सभापति लामिछानेलाई गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।  भेटमा लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारी अनुसार गृह मन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका हुन् ।

आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् । सभापतिले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल थालेको एक नेताले जानकारी दिए । ‘पार्टीको केन्द्रीय समिति बैठकबाट नै सभापतिलाई पुनः गृहमन्त्रीको रुपमा सरकारमा सहभागी गराइनुपर्छ भनेर निर्णय भएको हो । सोही अडानमा हामी कायम छौँ’, ती नेताले भने ।

ती नेताका अनुसार पार्टीभित्र छलफलका आधारमा आवश्यक निर्णय लिइनेछ । उनका अनुसार सरकारमा रहिरहने या बाहिरिने भन्नेमा आवश्यक निर्णय हुनेछ । रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

पुस १० मा एमाले, माओवादी केन्द्र, रास्वपा राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिने अवस्थामा पुग्नु भएको रास्वपा नेताको भनाइ छ ।

‘सरकार निर्माण गर्दा भएको सहमति अनुसार हामीले गृह मन्त्रालय लिएको हो’ रास्वपा स्रोतले भन्यो, ‘त्यो पालना नहुने हो भने देशको राजनीति पुस १० मा फर्किन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेको हो ।’ प्रधानमन्त्रीले भने नागरिकता पुनः लिए पनि पुरानै नागरिकताका आधारमा राहदानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न आग्रह गरेका थिए ।

‘कानूनी कुरा के हुन्छ, एकचोटि सरसल्लाह गरौं, भोलि फेरि अप्ठ्यारो नहोस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘कानूनी अप्ठ्यारा पनि हुनसक्छन् । राहदानी लगायतका कुरामा कानूनी समस्या के हुन्छ, त्यो बुझौं ।’

सर्वोच्च अदालतको फैसलापछि लामिछाने पदमुक्त भएपछि माओवादीका कतिपय नेताहरुले गृह मन्त्रालय आफूहरुले नै राख्नुपर्ने बताएका छन् ।सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पनि सभापतिले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरुसँग छलफल गरिरहेका छन् । आज बिहानमात्रै पनि प्रधानमन्त्री प्रचण्डसँग सभापतिले छलफल गरेको बताउँदै उनले पार्टीको निर्णयमा कुनै दायाँबायाँ नहुने बताए ।

‘पार्टीले गरेको निर्णय र पार्टीले बैठकपछि प्रेस मिट गरेर सार्वजनिक गरेको धारणा कायम छ’, उनले भने, ‘हामी सोहीअनुसार हुनुपर्छ भन्नेमा छौँ।’ उनले सत्ता साझेदार दललाई माग पुरा गर्नका लागि कुनै अल्टिमेटम भने नदिइएको उनको भनाइ छ । 

मङ्गलबार १७ माघ २०७९ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया