×

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

images

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो । 

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न  यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ । विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि नेपाल ल्याएका मोबाइलको पनि कर र भन्सार महसुल तिर्नैपर्ने गरी एमडीएमएस प्रणाली सुरु हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

 जनस्तरबाट व्यापक विरोध र विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएलगत्तै प्राधिकरणले तत्कालका लागि एमडीएमएस प्रणाली कार्यान्वयन रोक लगाएको छ । 

शुक्रबार​ १५ पुस २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया