काठमाडौँ । कप्तान दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्ण कप्तानी इनिङ्स खेल्दै अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पार्यो ।
सुरुवाती दबाब र दीपेन्द्र–इशानको साझेदारी
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । यस सिजन पहिलो खेल खेलिरहेका स्कटिस ओपनर जर्ज मन्से इनिङ्सको पहिलो बलमै आउट भए । यस्तै, पहिलो खेलमै मौका पाएका तानुका दबारे तेस्रो ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए । चौथो ओभरको पहिलो बलमै अर्का ओपनर विनोद भण्डारीलाई अभिषेक गौतमले डिकवेलाकै हातबाट क्याचआउट गराएपछि सुदूरपश्चिम ३.१ ओभरमा ८ रन बनाउँदा ३ विकेट गुमाएर गम्भीर संकटमा परेको थियो ।
टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा आएका कप्तान दीपेन्द्रले इशान पाण्डेसँग मिलेर इनिङ्स उकासे । यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्यायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा किशोर महतोको बलमा डार्शी सर्टबाट क्याचआउट हुनुअघि उनले ५१ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा ३ चौकाको मद्दतले २७ रन बनाए । १५औँ ओभरको पहिलो बलमा इशान रनआउट भएपछि यो साझेदारी टुटेको थियो ।
अन्य ब्याटर चल्न सकेनन्, लुम्बिनीको कसिलो बलिङ
दीपेन्द्र र इशानबाहेक सुदूरपश्चिमका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । १६औँ ओभरको पहिलो बलमै थरिन्दु रत्नायकेलाई शेर मल्लले बोल्ड गरे भने आरिफ शेख ६ बलमा ४ रन बनाएर मल्लकै बलमा डार्शी सर्टबाट क्याचआउट भए । स्कट कुगेलेइन अन्तिम बलमा रनआउट हुनुअघि ७ रन जोडे भने अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका बलरहरूले सुरुवातदेखि नै सुदूरपश्चिमका ब्याटरलाई दबाबमा राखे । रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए । उनले आफ्नो पहिलो स्पेलमा ३ ओभर बलिङ गर्दा ७ रन मात्र दिएर २ विकेट झारेका थिए । यस्तै, शेर मल्लले २ विकेट हात पार्दा किशोर महतो र अभिषेक गौतमले १–१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए ।
प्रतिक्रिया