×

 “नभरिएको अञ्जुली’’ कविता सङ्ग्रह र कृतिकार टीका सुदिश निरौला बारे दृष्टिकोण

images

कवि टीका सुदिश निरौला कृत कविता सङ्ग्रह हातमा पर्नु भन्दा अगावै केही कविताका अंशहरू सुन्ने मौका पाएकी थिएँ । एक दुई श्लोक कविता सुन्दैमा म आतुर थिएँ बाँकी भागहरू छिटो भन्दा छिटो पढ्नका लागि तर अझै पुस्तक विमोचन भएको थिएन र मेरो हातमा पुस्तका परेको थिएन । जब लोकार्पणको मिति तोकियो, मैले सबै काम छोडेर अफिस छुट्टी लिएर पनि यो विमोचन कार्यक्रम मा सहभागी बन्न कोशीस गरेँ । किन कि पुस्तक प्रेसमा जानु अगावै वाचन गरिएका केही श्लोकले मलाई भित्र सम्म छोएका थिए । 

टीका सुदिश निरौला एक परिचित नाम हो उहाँका नाटक मञ्चन तथा गीतहरूमा स्थापित नाम थियो । उहाँद्वारा रचित गीत सुनेर आँखाबाट आँशु थाम्न सकिन भन्नु हुन्छ स्वयम गायिका । माता जयकुमारी बाराल र पिता रामकृश्ण बरालकी पुत्रीको रूपमा आसामको फाटासिमला गाउँमा २०२० माघ १२ गते जन्मिनु भएकी टीका सुदिश निरौलाको आधिकारिक नाम टेकमाया बराल हो । बिराटनगर महानगरपालिका वडा नं १२ मोरङ स्थायी ठेगाना भएता पनि बुढानिलकण्ठ, काठमाण्डौ बसोबास गरेको २० वर्ष बितिसकेको छ ।  

नभरिएको अञ्जुली जन्मिनुको पृष्ठभूमि

शिक्षित परिवार, पतिपत्नी दुबै सरकारी निकायमा सेवारत र दुई छोराहरूका आभिभावक त्यसमा पनि लगनशील होनहार छोराहरू । जीवनमा भागवान्बाट भरपूर खुशी पाए अस्तै थियो जीवन । सानै उमेरमा छोरा सुदिशको तर्फबाट वैदेशिक भ्रमण तथा छोराको तीक्ष्ण बुद्धिको सम्मानहरूमा उभिन पाएकोमा गर्व थियो तर हुने हुनामी कसले छेक्न सकेको छ र ? लेखेको केही गरी टर्दैन भने जस्तै आँधीबेरी आयो कवि निरौला को जीवनमा । मोटरसाइकल दुर्घटनामा यति होनहार छोराको जीवनको इहलीला अब कहिल्यै अगाडि बढ्न नसक्ने गरी रोकियो र पृथ्वीमा विलीन हुन पुग्यो ।

जुन घटना मात्र एक परिवारको लागि अपुरणीय क्षति थिएन सुदिश एक होनहार सानै उमेरमा कैयौँ ज्ञानले धेरै लाई चकित पारेर देश मा आफ्नो क्षेत्रमा योगदान गरेका थिए । जापानमा छत्रवृती पाई विद्यावारिधीको लागी जाने तयारी गर्दै गर्दा उनी यात्रा गर्ने दिनसम्म पुग्न पाएनन र उनको जीवनको अध्याय यही नै रोकिन पुग्यो । जो कोही सुन्नेलाई र चिन्नेलाई पनि सुदिश निरौला अब भेटिने छैनन् भन्ने दुःखद खबर सुन्न र स्वीकार गर्न सक्ने थिएनन् भने जन्म दिने आमा बाबाका लागि यो स्वीकार गर्न कसरी सम्भव थियो र ? मान्छेका स्मरणमा पोतिएका कतिपय घटना समयको मलमले पुर्दै जान्छ तर यो घाउको लागि मलम बन्न सकेन समयको अन्तरालमा पनि ।

आखिर कति दिन ? यो घाउलाई बिर्सिए झैँ गर्नु थियो । र अगाडिका कृयाकलापलाई समात्नु थियो । यो घाउ पुर्ने मलम खोज्दा खोज्दै यसभन्दा अगाडि नाटकहरूमा कलाकारको भूमिका निभाएकी टीकाज्यूले विरह भरिएका शब्द माला गाँस्ने प्रयास भनौँ या स्वतः मनमा जन्मिएका भाव बटुल्ने काममा लाग्नु भयो । यसरी आफ्नो कलिलो उमेरको एक होनहार छोराको बियोगमा जन्मिएको सुदिशकै सम्झना हो ’’नभरिएको अञ्जुली’’ जम्मा ८४ कविताहरू ३१ छन्दमा सजिएका छन् ।

यसबाट धेरै जसो कविता पुत्रबियोग का कारण करुण रसमै छन् र यी करुण रसका कविता पढ्दा साँच्चै स्वयम् वियोगमा परेजस्तै अनुभूति हुन्छन् । राष्ट्रवन्दना शीर्षकको पहिलो कविता पञ्चचामर छन्दमा सुरु गरेर काव्य उत्सव शीर्षकको ८४औँ नम्बरको बसन्ततिलका छन्दमा समापन भएको छ । 

यस कृतिको लोकार्पण समारोह महिला आयोगको सभाहल काठमाण्डौ मा सम्पन्न भएको थियो । जुन कार्यक्रम को सभापतित्व नै स्वयम् वरिष्ठ कवि रमेश खकुरेलले गर्नु भएको थियो र समीक्षक तथा विशिष्ठ अतिथिको रूपमा स्वयम् महाकवि चन्द्रप्रसाद न्यौपाने रहनु भएको थियो । 
 

यस कृतिबाट करुण रस्
व्यथा देखिँदैनन् शीर्षकको कविता 
म हाँसूँ नहाँसूँ व्यथा देखिँदैनन् 
सयौँ छन् लुकेका कथा लेखिँदैनन्
हराए खुशी ती कथा छन जियामा
नसा भित्र भित्रै जलायो हियामा । ।

भुजङ्गप्रयात छन्दमा रहेको यो पृष्ठ १५ मा रहेको कविताले कसको मन छुँदैन होला र । हरेक मानिसले आफ्नो जीवनमा भोगेका भोगाईलाई यसरी ऐना सरि पस्किनुु भएको छ कविले कि यो शब्द माला बुन्ने वास्तवमा कलाकार नै हुन् भन्ने स्पष्ट हुन्छ । त्यस्तै पृष्ठ ४२ मा रहेको ’’दर्द नहोला’’ शीर्षकको चम्पकमाला छन्दको कविता पनि मुटु छुने खालको छ । 
बोझा भए झैँ जीवन यात्रा
लाग्दछ चुत्थो सान र जात्रा
यो बुझा हाम्रो मानव चोला
जल्दछ भोलि दर्द नहोला । ।

बाहिर हाँसो सुन्दर हुन्छ
भित्र सधैँ नै आहता हुन्छ
खै कसरी  लौ  शान्त गराऊँ
उत्तम बाटो हिँड्न  म पाऊँ ।।

यति मर्मश्पर्शी भावहरूले कविले यस कविता द्वारा सबैको मुटुलाई साँच्चै चिर्न सक्ने बन्नु भएको छ । छुन सक्ने बन्नु भएको छ । जीवनका दर्दनाक क्षणहरू लाई एक पानामा पोखेर आहत भएको मनको ज्वालामूखिलाई शान्त पार्ने प्रयासमा देखिनु हुन्छ । तर कविले यसमा आफ्नो मनमा शान्ति भर्ने प्रयास गरे पनि पाठकलाई भने भरपूर रुवाउन सफल बन्नु भएको छ । 

यसरी यस कृति भित्र जुन कविता चुने पनि उत्तिकै मन छुने छन् । जीवन र जगत्का वास्तविकता र सामाजिक परिवेशका यथार्थ बोकेका कविता हरू नपढी र पढेर मन नछोई रहने छैनन ।
कवि टीका सुदिश निरौलालाई हार्दिक मङ्गलमय शुभकामना छ । यसरी अल्पकालमा धेरै योगदान गरेका र सबैको मनमा अटाएका सुदिश निरौलाको आत्माको चिर शान्तिको समेत कामना गर्दछु । यो ’’’नभरिएको अञ्ञ्जुली’’’ स्वयम् सुदिश निरौला हुन् भन्ने मलाई लाग्दछ । ।


 

शुक्रबार​ १५ पुस २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया