×

सडक दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट ऋषभको अवस्था कस्तो छ ?

images

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेका छन् । शुक्रबार बिहान ऋषभको कार दुर्घटनामा परेको थियो ।​ ऋषभको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो ।

हरिद्वार एसएसपी अजय सिंहले बीबीसीलाई भने, ‘दुर्घटना बिहान ५ः३०–६ बजेको बीचमा भएको थियो । ऋषभ पन्तको कार डिभाइडरमा ठोक्कियो । अगाडिको विन्डशिल्ड फुटेर उनी बाहिर निस्किए । कारमा आगलागी भएको थियो । प्राथमिक उपचारपछि लाइफ सपोर्टसहितको एम्बुलेन्स बोलाइयो । र उनलाई देहरादुनको म्याक्स अस्पताल पठाइएको छ ।’

‘हामीले डाक्टरसँग कुराकानी गरेका छौँ । प्रारम्भिक परीक्षणबाट ज्यान जोखिममा पार्ने कुनै कुरा नखुलेको डाक्टरले बताए । कुनै आन्तरिक चोट भने छैन, खुट्टामा चोट छ, ढाडमा चोट लागेको छ, टाउकोमा पनि चोट छ । बाँकी एक्स–रे रिपोर्ट आएपछि मात्र थाहा हुनेछ ।’

रिपोर्टका अनुसार पन्त आफैंले मर्सिडिज कार चलाइरहेका थिए । पूर्व क्रिकेटर तथा राष्ट्रिय क्रिकेट एकेडेमीका प्रमुख भीभीएस लक्ष्मणले ऋषभ ठीक रहेको र कुनै गम्भीर खतरा नभएको ट्विट गरेका छन् । लक्ष्मणले ऋषभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऋषभ पन्तको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

दुर्घटना कसरी भयो ?

ऋषभ दिल्लीबाट रुडकीस्थित आफ्नो घर जाँदै थिए । हरिद्वार एसपी देहात स्वपन किशोरले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारी अनुसार ऋषभ पन्तको कार हरिद्वार जिल्लाको मंगलोर र नरसान बीच दुर्घटनामा परेको थियो । उनलाई देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अधिकारीहरूलाई ऋषभको उपचारका लागि आवश्यक सबै व्यवस्था गर्न निर्देशन दिएका छन् । २५ वर्षीय पन्त श्रीलंकासँग जनवरी ३ बाट सुरु हुने टी–२० र एकदिवसीय सिरिजका लागि टोलीमा परेका छैनन् । उनले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिनुपरेको थियो ।

भारत–बंगलादेश सिरिजपछि ऋषभ पन्त दुबई गएका थिए । धोनीकी पत्नी साक्षी सिंहले ऋषभसँगको तस्विर पोस्ट गरेकी छिन् । पन्त यसै साता भारत फर्किएको बताइएको छ । ऋषभ पन्त आक्रामक ब्याट्सम्यानका रुपमा चिनिन्छन् । गत हप्ता मात्रै बंगलादेशविरुद्धको दोस्रो टेस्टमा ऋषभ पन्तले ९३ रनको इनिङ खेलेका थिए । ऋषभ पन्तले श्रीलंकासँगको आगामी सिरिजमा टिममा स्थान पाएका छैनन् ।

बीबीसी

शुक्रबार​ १५ पुस २०७९ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया