×

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न आयोगको निर्देशन

images

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’

स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए । ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मुकदर्शक बनेको उनीहरूको आरोप छ । मतदान गर्ने ठाउँमा भिडभाडसहित एकलौटी मत खसालेको भिडिओ पनि सार्वजनिक भएको थियो ।

अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसेपनि यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन समेत गरे । यहाँ मरेका र विदेशिएका मानिसका नाममा भोट हालेको एमालेलगायतका दलको आरोप छ । त्यस्तै बाजुरामा मतदानको दिन झडप हुँदा मानवीय क्षतिसमेत भएको थियो । बाजुरामा पनि केही मतदान केन्द्रमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । बुढीनन्दा नगरपालिकाका केही केन्द्रमा पुनः मतदान भइसक्दा पनि अन्य केन्द्रका विषयमा दलहरुबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन ।

सहसचिव तुलसी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा पुगेर यहाँ स्थलगत अध्ययनसमेत गरेको थियो । एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन। यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए। तर, बुधबार बिहान बसेको आयोग पदाधिकारीको बैठकले दुवै क्षेत्रमा मतगणना गर्न निर्वाचन अधिकृतकाे कार्यालयलाई निर्देशन दिएको छ। जसकारण बिहीबार साँझदेखि मतगणना सुरु हुने भएको छ।

 

बुधबार १४ मंसिर २०७९ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया