×

कांग्रेसले बागमतीमा आज संसदीय दलको नेता चयन गर्दै

images

हेटौडा । बागमती प्रदेशमा नेपाली काँग्रेसले आज संसदीय दलको नयाँ नेता चयन गर्दै छ ।

मुख्यमन्त्री बहादुरसिंह लामालाई प्रदेश कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर मंगलबार हटाइएको थियो । लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा कांग्रेसका ३७ मध्ये २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मत दिएपछि लामा संसदीय दलको नेताबाट हटेका हुन् । लामाको पक्षमा १५ सांसदले मत दिएका थिए । 

संसदीय दलको नेता चयन गर्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । साथै निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् । निर्वाचन समितिले बुधबार बिहान ८ बजे मतदाता नमावली प्रकाशन र दिउँसो २ बजेदेखि मतदानको समय तोकेको छ ।

यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट दुवै नेता लामा र बानियाँबीचको विवादले अहिले बागमतीको सरकारनै विवादमा परेको छ ।

अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।

 

बुधबार १५ साउन २०८२ ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया