×

थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले घेरे महानगर

images

काठमाडौं । काठमाडौंको थापाथलीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले  कार्यालयमा प्रदर्शन गरेका हुन् ।  आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । एकीकृत बागमती सभ्यता विकास समितिले चुनावको दिनमै अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । यो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ । 

मङ्गलबार १३ मंसिर २०७९ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया