ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उनको भनाइ छ ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रलाई एकता, सम्बृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।” सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनले बताए ।
अध्यक्षले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरेको बताए । उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकासलाई गति दिने बताए । अध्यक्षले भने, “गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ । ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ । यी सबै पुरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु । ”
प्रतिक्रिया