×

नेप्सेमा सामान्य सुधार

images

काठमाडौं । मंगलबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १५.६१ अंक घटेर बन्द भएको नेप्से, यस दिन २.९९ अंक बढेर १९५३.३५ विन्दुमा पुगेको छ। गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य वृद्धि भएपनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा गिरावट भएको छ ।

दिनभरजसो बजार परिसूचकमा उतारचढाव भएपनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो । तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । मंगलबार नेप्सेमा २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख ७५ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३१ लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड २२ लाख ५ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १२० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरि लघुवित्तको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि हुँदा एनसीसी बैंकको सेयर मूल्य ५.०५ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्डको इकाइ मूल्य ४.१८ प्रतिशतले बढेको छ ।

मङ्गलबार १३ मंसिर २०७९ ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया