×

कांग्रेस वरिष्ठ उपसभापति शर्माको चेतावनी: जिम्मेवारी सम्हाल्नु प्रमाणपत्र र माला लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्नु मात्र होइन

images

काठमाडौँ, १३ कात्तिक (ई-सञ्चारपाटी) ।
नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई देखावटी प्रवृत्ति त्यागेर कामको ठोस परिणाम देखिने गरी जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपसभापति शर्माले पार्टीभित्र काम गरेको देखाउन मात्र दौडधुप गर्ने प्रवृत्तिको आलोचना गरे। उनले प्रचारमुखी शैलीभन्दा संस्थागत योजना, जिम्मेवारीको स्पष्ट बाँडफाँट र कामको प्रतिफललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

पार्टीको जिम्मेवारी सम्हाल्नु भनेको प्रमाणपत्र र माला लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्नु मात्र नभएको उल्लेख गर्दै उनले भने, "कांग्रेसको ऐतिहासिक विरासतलाई जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प नयाँ नेतृत्वले गर्नुपर्छ। इतिहास जति गर्विलो थियो, वर्तमानलाई उत्तिकै जिम्मेवार बनाएर भविष्यलाई उत्तिकै सुन्दर बनाउने सङ्कल्प आज शपथ ग्रहण गरिरहेको घडीमा हामीले गर्नुपर्छ।"

युवा र सबै पक्षको प्रतिनिधित्व
शर्माले कांग्रेसको १५औँ महाधिवेशनले सहिद परिवार, प्रजातन्त्र सेनानी, विभिन्न पेसा–व्यवसायमा संलग्न व्यक्ति तथा युवाहरूको प्रतिनिधित्वलाई नेतृत्वमा समेटेको बताए। विशेषगरी युवाहरूको चाहना र भावनालाई बुझ्नका लागि ३५ वर्षमुनिका युवाहरू विभिन्न तहमा निर्वाचित भएर आउनु सकारात्मक पक्ष रहेको उनको भनाइ थियो।

एउटै टिम भएर अघि बढ्न आह्वान
सम्बोधनका क्रममा उनले निर्वाचनको लोकतान्त्रिक अभ्यास सकिइसकेकाले अब पार्टीभित्र निर्वाचित भएका र निर्वाचित हुन नसकेका सबै नेता-कार्यकर्ताहरूलाई एउटै टिमका सदस्यका रूपमा एकजुट भएर अघि बढ्न आह्वान गरे। पार्टीका सभापतिले तयार गर्ने कार्ययोजना र सङ्गठनले निर्धारण गरेका जिम्मेवारी अनुसार काम सम्पादन गर्न तथा त्यसको उपलब्धि समयमै प्रतिवेदनका रूपमा बुझाउनुपर्ने परिपाटीको विकास गर्नुपर्नेमा उनले जोड दिए।

साथै, नेता शर्माले सामाजिक सञ्जाललाई केवल व्यक्तिगत प्रचार र ‘शो-अप’ को माध्यम बनाउनुको साटो समाज रूपान्तरणको रचनात्मक माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।

बिहीबार १३ कात्तिक २०८३ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया