×

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने, गृहमन्त्रालयमा दाबी

images

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट बाहिरिएलगत्तै लामिछाने प्रधानमन्त्री दाहालसँग छलफलको लागि बालुवाटार छिरेका हुन् । शुक्रबार लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला आएको थियो ।

सो फैसलाले लामिछाने सांसद र मन्त्री हुन अयोग्य भनेको थियो । शुक्रबार अदालतको फैसलासँगै रवि कुनैपनि पदमा रहन अयोग्य भएका थिए । तर, आज भने रविले अदालतको फैसलाबमोजिम नै नागरिकता पूनः प्राप्ति गरेका छन् । नागरिकता पाएलगत्तै बसेको पार्टीको बैठकले लामिछानेलाई सभापतिमा नियुक्त गरेको छ । लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएसँगै सो मन्त्रालय प्रधानमन्त्री दाहालले राखेका छन् ।

अहिले दाहालले सो मन्त्रालय आफ्नै दलमा राख्न चाहेको समाचार आएपछि लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । यसअघि दाहाललाई भेट्न एमाले अध्यक्ष ओली पनि बालुवाटार पुगेका थिए । सो भेटमा ओलीले गृहमन्त्रालय रास्वपालाई नै दिन दबाब दिएको बुझिएको छ । तर, दाहालले गृहमन्त्रालय आँफै राख्ने अडान लिएका थिए ।

लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्। 

उच्च स्रोतका अनुसार लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए। 

आइतबार​ १५ माघ २०७९ ०९:४२ PM मा प्रकाशित

प्रतिक्रिया