×

भीआईपीलाई बिना कारण पक्राउ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

images

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको विषयतर्फ संकेत गर्दै सरकारको यो कदमको कडा आलोचना गरे।

सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको भए त्यो स्वयं सरकारकै लागि घातक हुने उनको भनाइ थियो। प्रचण्डले यस्ता गैरजिम्मेवार घटना नदोहोर्‍याउन सरकारलाई आग्रह गर्दै तथ्यहरू विस्तारै बाहिर आउने बताए।

प्रहरी तथा सरकारी निकायले नियन्त्रणमा लिनुको कारण ‘सुरक्षा थ्रेट’ भनेर दिएको तर्कलाई खण्डन गर्दै प्रचण्डले त्यसलाई सामान्य मानिसले पनि बुझ्ने ‘बहानाबाजी’ मात्र भएको टिप्पणी गरे। यदि साँच्चिकै सुरक्षा खतरा थियो भने पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा पक्राउ गरी प्रहरी कार्यालय पुर्‍याउनुको सट्टा निजको निवासमै सुरक्षाकर्मी बढाउनुपर्ने तर्क उनले अघि सारे।

सोही क्रममा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामा भएको सम्बोधनबारे सोधिएको प्रश्नमा प्रचण्डले प्रधानमन्त्रीले परिस्थिति अनुसार स्वाभाविक रूपमा विषयहरू राखेको र यसलाई धेरै बढाइचढाइ गरिरहनु आवश्यक नरहेको प्रतिक्रिया दिए।

सोमबार १२ असोज २०८३ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया