×

गृहमन्त्री भन्छन -ममाथि राजनीतिक पूर्वाग्रहप्रेरित षड्यन्त्र भयो, म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?

images

 काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीति पूर्वाग्रहप्रेरित षड्यन्त्र भएको बताएका छन् । संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउको विषय जोडेर आफूबारे निर्माण भएका धारणा असत्य रहेको उनले दाबी गरे । ‘सबैभन्दा पहिले यो जसरी संलग्नता देखाएर समाचार र धारणा अभिव्यक्त भएका छन्, असत्य कुरा हो । कुनै संलग्नता छैन । मेरा विरूद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण गरिएको छ,’ उनले भने ।

संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसबारे छानबिन जारी राखेकाले त्यसलाई सघाउ गर्ने उनले बताए । प्रतिपक्षी दलले संसद्‌मा अवरोध कायम राखेपछि संसद्‌मा उनले जवाफ दिन पाएका थिएनन् ।  त्यसपछि उनले पत्रकार सम्मेलन गरेका हुन् ।

तीर्थराज भट्टराईलाई आफूले नल्याएको बताएका छन् । आफू गृहमन्त्री हुँदा नै उनी मन्त्रालयमा कार्यरत रहेको उनले बताए । ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो। उहाँलाई त्यहाँ सरुवा गरिएको हो। उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो। जो मभन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो,’ उनले भने।

गृहमन्त्री लेखकले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्नेसमेत बताएका छन्। उनले अख्तियारबाट हुने जुनसुकै छानबिनलाई आफूबाट खुल्ला रूपले सहयोग हुने बताएका छन्। 

‘सम्मानित आयोगको अनुसन्धान पश्चात जो दोषी देखिन्छ उसलाई कानून बमोजिम कारबाही हुने नै भएकोले आयोगको निर्णय भन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतास नबनौ र हतार नगरौं भन्ने मेरो आग्रह छ।’ मन्त्री लेखकले भने, ‘स्वतन्त्र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकोले यसमा थप प्रष्टीकरण दिइ रहनु नपर्ला भन्ने विश्वास छ।”

उनले कुनै मातहतको राष्ट्रसेवकलाई कुनै कसूरमा छानबिन गर्न पर्‍यो वा अनुसन्धान गर्न पर्‍यो वा मुद्वा दायर भयो भने त्यसको जिम्मा विभागीय मन्त्रीले लिने हो भने हरेको वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने मुद्धाको जिम्मेवारी तत् मन्त्रीले लिने कि नलिने भन्दै प्रश्न गरे।

‘अहिले बजारमा म माथि सृजना गरिएका भ्रामक समाचारको जवाफ दिन मैले समाचार प्रकाशन भएकै दिनमा सम्माननीय सभामुख मार्फत समय मागेको थिए। म लोकतन्त्र र संसदीय सर्वोच्चताको पक्षपाती जनप्रतिनिधि भएकोले म माथि उठेको प्रश्नको प्रष्टीकरण जनताको थलोबाटै दिन चाहन्थे तर त्यो संभव भएन।’

उनले आफूमाथि आक्रमण गरिरहँदा कतै यस्ता अपराधिक कार्यहरू गर्ने समूहहरू हर्षबढाँई गरी खुसी मनाईरहेका त छैनन् भन्ने चिन्ता लागेको उनको भनाई थियो।

‘गृह मन्त्रीमाथिको आक्रमणले सुधार नचाहने तत्त्व सलबलाईरहेको त छैन? तपाईहरूलाई लाग्छ यस्ता गैरकानूनी कार्यमा संलग्न होला? म बाट न विगतमा, न वर्तमान र न भविष्यमा राष्ट्रहित विपरितका कार्यहरू भएनन् र हुन सक्दैनन्,’ उनले भने, ‘यद्यपि, कुनै पनि समस्याको मर्यादित प्रश्न उठाउने, समस्या समाधानमा सुझाव दिने माननीय सदस्यहरू, नागरिक समाज, विपक्षी दलहरू, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक आभार प्रकट गर्दछु। तर, व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत सबैमा हार्दिक अनुरोध छ।’

उनले मुलुकको अर्थतन्त्र र समग्र शासकीय प्रणालीलाई सबल बनाउन कटिबद्ध जनप्रतिनिधि माथि अप्रासांगिक, व्यक्ति केन्द्रीत र राजनीतिक कुण्ठा प्रेरित विषय उठाएर सार्वभौम संसद अवरुद्ध गर्नु आफैंमा बुद्धिमानपूर्ण कार्य नभएको बताए।

‘तसर्थ सबै विपक्षी दलहरूलाई मेरो आग्रह छ, कि नागरिकका समस्याहरू समाधानार्थ संसद सुचारु गरौं, देखिएका समाधानहरू कहाँ कहाँ छन् सम्बोधन गर्न आजैबाट लागौं,’ उनले भने।

त्रिभूवन विमानस्थल अध्यागमन कार्यालयका कार्यालय प्रमुख, सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय आफूले सञ्चार माध्यमबाट थाहा पाएको उनको भनाई थियो।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग जसले मुलुकमा भ्रष्ट्राचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको छ, उसको काम कारबाहीलाई म खुल्ला मनले स्वागत गर्दछु। अझ म, जो लोकतन्त्र र सुशासनको लागि वर्षौँदेखि लडिरहेको छु, विधिको शासनको लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गरेको छु र गर्ने नै छु,’ उनले भने, ‘कुनै पनि राष्ट्र सेवकले गरेको भ्रष्ट्रचारजन्य कामको अनुसन्धान, अभियोजन लगायतका कार्य गर्न सक्षम संवैधानिक निकाय छ।उसले गर्ने काम कारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पर्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा म सचेत छु। र, सो आग्रह सबैमा गर्न चाहन्छु कि स्वतन्त्र निकायलाई स्वतन्त्र रुपमा निष्कर्षमा पुग्न दिऔँ।’

‘अहिलेको प्रसंग एक जना सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको हो। मेरो विषय वा प्रसंग पनि होइन। मेरो कुनै स्वार्थको द्वन्द्व पनि छैन।’ उनले भने, ‘सक्षम संवैधानिक निकायले गर्ने अनुसन्धानलाई निष्कर्षमा पुग्न दिँदा जो दोषी हुन्छ ऊ कानून बमोजिमको कारबाहीमा परि नै हाल्छ।’ 

कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने व्यवस्था चल्न नसक्ने उनको भनाइ छ। ‘मैले कसैका प्रति असम्मान गर्नु छैन। आग्रह पूर्वाग्रह राख्न परेको छैन। न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि।’

लेखकले आफ्ना विरुद्ध कहीँ उजुरी नपरेको बताएका छन्।  भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले प्रश्न गरे, ‘मेरा विरुद्ध कहीँ उजुरी छ ? कहीँ छानिबन भइरहेको छ ?’ 

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको उनले बताएका छन्। संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गरेर लेखकले सोधे, ‘म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’  

आपराधिक कार्यको दायित्व अपराध गर्नेमा मात्र सीमित हुने निष्कर्ष सुनाउँदै लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने बताए।

बुधबार १५ जेठ २०८२ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया