×

कसरी पिउने कफी, यस्ता छ्न कफी पिउनुका फाइदा

images

काठमाडौं :  कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो । जाडो याममा त हामीले कफी अलि बढी नै पिउने गर्छौं । धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन नै लाग्दैन ।

हामी कसैको घरमा पाहुना बनेर गयौं भने पनि सुरुमै सोधिन्छ, चिया पिउने कि कफी ? भनेर । आजकल साथीभाइसँग भेट भएर घन्टौं कफी पिउँदै गफिने चलन ठूला शहरमा मात्रै होइन साना शहरमा र गाँउमा पनि सुरु भएको छ । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ र यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा–बेफाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ । कफीमा ‘क्याफिन’ हुन्छ । हामीले क्याफिन धेरै सेवन गर्यौं भने शरीरलाई बेफाइदा गर्छ, तर सहि तरिकाको बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी स्वास्थ्यको लागि राम्रो हुने गर्छ । 

कफीका नियमित पारखीका लागि हाल विभिन्न विधिबाट क्याफिनको मात्रा कम गरी तयार गरिएका डिक्याफिनेटेड कफी उपलब्ध छन्। यसमा क्याफिनको मात्रा २ मिलिग्राम प्रतिकप मात्रै हुने गर्छ। फिल्टर कफीको तुलनामा नेपालमा बाहिरबाट आयात गरिने इन्स्टेन्ट कफीमा पनि क्याफिनको मात्रा ३० देखि ६० प्रतिशत कम हुन्छ। 

विश्वमा कफीको नाम नसुन्ने मानिस सायदै होलान्। चियाजस्तै कफी पनि एक वैधानिक पेयपदार्थ हो। नवौं शताब्दीतिर इथियोपियाको कफा प्रान्तमा बाख्रा गोठलाले कफी पत्ता लगाएको इतिहास छ। हाल विश्वका ७०  बढी देशमा कफी उत्पादन हुन्छ भने खपत सबै मुलुकमा हुने गरेको छ। ब्राजिलले विश्वको एक तिहाइ बढी कफी उत्पादन गरेर सबैभन्दा बढी उत्पादक बन्दै आएको छ। भारत पनि विश्वमा कफी उत्पादन गर्ने प्रमुख १० देशमा पर्छ। विश्वमा पेट्रोलियम पदार्थपछि धेरै आर्थिक कारोबार हुने वस्तुमा कफी उद्योगले वार्षिक करिब ९० अर्ब डलर बढीको हिस्सा ओगटेको छ। 

कफी पिउनुका फाइदा:

प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्नुका साथै कफीले मुड फ्रेस गर्छ ।

मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ ।

जाडो मौसममा नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ ।

नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत कम गर्छ ।

कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाउन मद्दत गर्छ र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ ।

दिनमा दुईदेखि तिन कप कफी पिउनु स्वास्थ्यका लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दूध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यस आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि फुर्तिलो बनाउनुको साथै यसले स्वास्थ्यमा पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने छैन ।  नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई कतिपय अवस्थामा हृदयघात हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

कफी पिउनुका बेफाइदाः

गर्मीमा धेरै कफी सेवन राम्रो मानिन्न ।

गर्भवति महिलाले कफि पिउनु राम्रो मानिँदैन । यसको कारण बच्चाको स्वास्थ्यमा असर पार्छ । गर्भपातको जोखिम समेत बढाउँछ ।

दुध कफिले ग्याष्ट्रिक बढाउन सक्छ ।

राति सुत्नुअघि कफि पिउनु राम्रो मानिन्न ।

उच्च रक्तचाप भएका मानिसले धेरै क्याफिनयुक्त कफि पिउनु हुँदैन ।

निन्द्राको समस्या भएका तथा हड्डी कमजोर भएकाले पनि कफि पिउनु हुँदैन ।

शुक्रबार​ १३ मंसिर २०८२ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया