काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई समूहबीच एकताका लागि सहमति जुटेको छ । विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका डा. बद्री केसी र महोशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएबीच १० बुँदे सहमति भएको हो ।
अब प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा दुवै समूहबीच आइतबार एकता घोषणा हुने एक पदाधिकारीले बताए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो । एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमितिको समेत अस्तित्व स्वीकार गर्दै श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान दुवै पक्ष तयार भएका छन् ।
सहमतिअनुसार एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित महेशकुमार श्रेष्ठलाई स्वीकार गर्ने उल्लेख छ ।
महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति भएको छ । १० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सबै बुँदाहरूलाई संघको आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ ।
सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया