काठमाडौं । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ।
प्रदर्शनका कारण काठमाडौंको तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी जाम हुने अनुमान गरिएको छ। तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुने छ। ट्राफिक व्यवस्थापनको लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइने प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित हुने देखिन्छ। साथै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुने अनुमान गरिएको छ।
आवश्यकताअनुसार विभिन्न सडकमा सवारी डाइभर्सन हुने र ट्राफिक प्रहरी पालैपालो खटिने गिरीले बताए । भृकुटीमण्डपमा प्रदर्शन बिहान १२ बजेदेखि र तीनकुनेमा १ बजेदेखि शुरु हुने तय भएको छ। सवारी जामका कारण यातायातमा असहजता नहोस् भनी ट्राफिक प्रहरीले सडकमा यात्रा गर्ने सबैले अतिरिक्त समय राखी सावधानी अपनाउन आग्रह गरेको छ। दुवैले एक अर्काविरुद्ध प्रदर्शन गर्न लागेका छन् ।
आन्दोलनका लागि तयारी तीव्र पारिएको छ । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् ।
आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ । आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन् ।
प्रतिक्रिया