×

अर्थतन्त्रमा देखापरेको समस्या समाधानमा छिट्टै हुन्छ- नवनियुक्त प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज बिहान उनको निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सन्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।  साथै प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको महासंघको बुझाई छ । र महासंघले पनि  प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको गोल्छाले सो अवसरमा स्मरण गराए ।

उनले अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको तथा विशेष गरी समग्र बैंककाे समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाे उनको भनाई छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए ।

‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ । सरकारले यसलाई गम्भीर रुपमा लिन्छ’ प्रधानमन्त्री दाहाले भने ।

प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने आश्वासन समेत दिए ।

मङ्गलबार १२ पुस २०७९ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया