×

बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती  हस्तान्तरण

images

सिन्धुपाल्चोक- भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । 

ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका लागि यहाँका समुदायले चासो दिनुपर्ने बताउनुभयो । उहाँले डिजिटिल शिक्षा, स्वास्थ्य, स्वस्च्छ खानेपानीका लागि पनि फाउण्डेशनले सहयोग गरेकामा  आगामी दिन आवश्यक सहयोगसमेत गरिने जानकारी दिनुभयो ।  


जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनःनिमार्णमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिन  थप सहयोगको अपेक्षा गर्नुभयो । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणको रु तीन लाख, चौधरी फाउण्डेशनको रु आठ लाख र रु दुई लाख स्थानीयवासीको गरी प्रति घर रु १३ लाखको लागतमा ६२वटा चार कोठे पक्की घर   निर्माण गरिएको र ती घरमा  शौचालय, खानेपानी, विद्युत्लगायत सुविधा पनि उपलब्ध गराइएको इञ्जिनीर शरद दुलालले जानकारी दिनुभयो । 


शैक्षिकसँगै आर्थिक क्षेत्रलाई पनि जोड्न र आयआर्जनका लागि स्थानीयवासीलाई सहज गराउन फाउण्डेशनको सहयोगमा गाउँमै रहेको इँट्टा उद्योगलाई व्यवस्थित र थप विस्तार गर्दै लैजाने योजना रहेको बस्ती निर्माण समितिका अध्यक्ष कर्मासिं लामाले बताउनुभयो । पानीको समस्यामा रहेका स्थानीयवासीलाई  लिफ्टबाट घरघरमा पानी उपलब्ध गराइनाका साथै एकीकृत रुपमा नयाँ पक्की घर पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । विसं २०७२ को भूकम्पमा सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचिमा परेका थिए । हालसम्म ८४ हजार १७५ घर  निर्माण भइसकेका  बाँकी निर्माणाधीन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईले जनाएको छ ।  

जिल्लामा २२ एकीकृत बस्ती 
भूकम्पले सबैभन्दा धेरै क्षति पु¥याएको यस जिल्लाको अधिकांश घर ध्वस्त भएका थिए । भूकम्पले ढलाएका घर पुनःर्निमाणको चरणमा एकीकृत बस्तीको अवधारणा आए पनि सबैतिर त्यो लागू हुन सकेन । अहिले जिल्लाको २२ ठाउँमा एकीकृत बस्ती बनेकामा  मेलम्ची १२ मा मात्रै चार वटा एकीकृत बस्ती छन् । विकास र निर्माणका हिसाबले निकै सहज हुने भएकाले एकीकृत बस्ती विकासको अवधारणा ल्याइएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले बताउनुभयो । 

एउटै वडामा मात्र ४ एकीकृत बस्ती
 
मेलम्ची १२ मा मात्र ४ वटा एकीकृत बस्ती निर्माण भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगमा निर्मित ६५ घरको  गिरान्चौर बस्ती, ६५ घरकै  नम्डोललिङ नमूना एकीकृत बस्ती, सामुदायिक पुनःनिमार्ण पर्यटन परियोजनामार्फत निर्मित १३५ घरको वस्ती  र ३१ घरको थाक्ले बस्ती यस वडामा रहेको मेलम्ची नगरपालिकाका इञ्जिनीयर जितबहादुर कार्कीले बताउनुभयो । नम्डोललिङ बस्तीका लागि योजना बनाइएको र आगामी दिनमा पनि एकीकृत बस्तीको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो ।
 
पर्यटक लोभ्याउँछ बस्तीले

एकीकृत बस्तीले पर्यटकलाई आकर्षित गर्ने स्थानीयबासीले बताए। स्थानीय कला र संस्कृति झल्कने वेषभूषा र रहनसहनले गर्दा आन्तरिक तथा बाह्य पर्यटक गाउँमा भित्र्याउन सकिने उनीहरुको भनाइ थियो। पर्यटक प्रवर्धनका लागि होमस्टेको विकास गर्दै आगामी दिनमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना रहेको स्थानीयवासी क्षितिज तामाङले बताउनुभयो । त्यसका लागि बाह्रै महिना चल्ने सडक, स्वस्च्छ खानेपानी, चेतनाको विकास, एकीकृत बस्तीसँगै अन्य पूर्वाधारको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

आइतबार​ १३ चैत २०७८ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया