×

राष्ट्रपतिमा दलहरूसँग राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय भएको हो।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक पदाधिकारीले बताए । दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसकाे समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए ।

धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए । शुक्रबारको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, नेता जनादर्न शर्माले संगठनसम्बन्धी र गिरीराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । साथै अध्यक्ष प्रचण्डले पहिलो दिन पेस गरेको प्रतिवेदनमाथि २७ जनाले धारणा रखेका छन् । 

स्थायी समिति बैठकमा सदस्यहरुले धारणा राखेपछि अध्यक्ष प्रचण्डले बैठक जारी राख्ने तर केही दिन स्थगित भएको जानकारी दिदै महासचिव देव गुरुङ र उपमहासचिवहरुलाई बैठकमा उठेका विषयहरुबारे केन्द्रीय समितिको कार्य विभाजन, पोलिटब्युरोको पूर्णता, पार्टी एकता लगायत सबै बिषयमा कंक्रिट रुपमा आगामी बैठक पेस गर्न निर्देशन दिएको नेता महराले जानकारी दिए ।

शुक्रबार​ १३ माघ २०७९ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया