×

जिल्लाका गठबन्धनका दलसँग ‘प्रचण्ड’को भेट

images

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गर्नुभएको छ । 

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूसँग भेट गर्नुभएको हो । छोटो समयका लागि यहाँ आउनुभएका दाहालले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहनुभएका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गर्नुभएको हो । 

उहाँले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गर्नुभएको थियो । भेट पछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने  विषयमा छलफल भएको बताउनुभयो । दाहालले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ ।

खनालले भन्नुभयो, “विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ ।” दाहाललाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा दाहालले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताउनुभयो । 

दाहालले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गर्नुभएको थियो । दाहालको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ ।

मङ्गलबार १३ बैशाख २०७९ ११:४२ PM मा प्रकाशित

प्रतिक्रिया