×

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

images

ढोरपाटन (बागलुङ), १४ वैशाख ः बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको होभने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुग्नुभएका कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो । विहान ११ बजेदेखि बेपत्ता हुनुभएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको उहाँको भनाइ छ ।

घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । घाइते दुईजनाको शरीरका विभिन्न अङ्गहरु जलेको उहाँ बताउनुहुन्छ । शवलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताउनुभयो । आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उहाँको भनाइ छ ।

“बिहानदेखि नै आगलागी भएको रैछ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरु आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्,” प्रहरी निरीक्षक सुनारले भन्नुभयो, “आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणबाहिर छ, तत्काल बस्तीहरु त जोखिममा छैनन् तर जङ्गल सबै जल्ने भयो ।”

शुक्रबार​ १४ बैशाख २०८१ ०८:४५ PM मा प्रकाशित

प्रतिक्रिया