×

थपिएको मत थपिएको जिम्मेवारी हो, हामी सिधै काममा लाग्न चाहन्छौं - सभापति रवि लामिछाने

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ ले दिएको बताएका छन् । फराकिलो मतान्तरले विजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका हुन । साथै  लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको उनको भनाइ छ ।

थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहिँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं ।’ ‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्।

तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने छु,’ मतदातालाई धन्यवाद दिँदै लामिछानेले भनेका छन्, ‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताउँदै उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल र तिनका कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रवि ५४ हजार १७६ मतसहित विजयी भएका छन् । त्यसो त चितवन क्षेत्र नम्बर २ मा पर्ने इच्छाकामना गाउँपालिकाका ७, भरतपुर महानगरपालिकाका १० र कालिका नगरपालिकाका ११ गरी जम्मा २८ वटा वडाहरुमध्ये २ वटा बाहेक सबै वडामा लामिछानेले अरु उम्मेदवार भन्दा बढी मत ल्याएका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले जितेको इच्छाकामना गाउँपालिकाका ७ वटा वडामध्ये ६ वटा वडामा रविले एमाले उम्मेदवारलाई पछि पारेका थिए ।

लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारहरुलाई सदा साथमै लिएर चितवन २ का नागरिकको आकांक्षा पूरा गर्न सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले जनप्रतिनिधिको रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने उल्लेख गरेका छन् ।

बुधबार १३ बैशाख २०८० १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया