×

गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान

images

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी दलको सहमतिमा बहुमतको सरकार गठनका लागि मंगलबार आह्वान गरेका हुन् ।

एमाले नेतृत्वको खगराज अधिकारी ढलेको तीन दिनपछि मात्र संविधानको धारा १६८(२) वा (३) के बमोजिम सरकार गठनको आह्वान गर्ने भन्ने अन्योलबीच उपधारा (२) बमोजिम सरकार गठन आह्वान भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिराज अर्यालले प्रदेश प्रमुखबाट बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठन आह्वान भएको जनाएका हुन् ।

गण्डकी प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गठबन्धनभित्रबाट भावी मुख्यमन्त्रीको दाबी गरिहँदा अर्को दल माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमानले पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेका छन् । जसका कारण चुमानको दाबी उपधारा (२) बमोजिम नै सरकार बन्नुपर्ने अडान जिकिर थियो ।

त्यसैले कांग्रेसका २७ जना सांसद डेलिगेसनसहित काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । गठबन्धनका शीर्ष नेताको सहमतिमा गण्डकीको नेतृत्व कांग्रेसलाई दिने सहमति जुटेको थियो । यता, प्रदेश प्रमुख पनि कानुनी परामर्शमा रहेको भन्दै सरकार गठन आह्वान गर्न रोकिएका थिए ।

सोही सहमतिबमोजिम उपधारा (२) बमोजिम नै यहाँ तीन दिनभित्र सरकार गठनको आह्वान भएको हो । माओवादीका नेता चुमान भने कांग्रेसको सरकार बने समर्थन दिन नसकिने अघिल्लो दिन बताउँदै आएका थिए ।
राजधानी दैनिकबाट

बुधबार १३ बैशाख २०८० ०६:४३ AM मा प्रकाशित

प्रतिक्रिया