×

धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

images

 काभ्रेपलाञ्चोक, १४ वैशाख : धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति हक्की प्रतियोगिताको तयारी पुरा भएको हक्की सङघ काभ्रेपलाञ्चोकले जनाएको छ । पाँच दिन सञ्चालन हुने प्रतियोगितामा प्रदेशस्तरका पाँच समूहका ९० खेलाडी सहभागी हुनेछन् । 

प्रति समूह १६ खेलाडी र दुईजना अफिसियल सहभागी हुने हक्की सङ्घका जिल्ला अध्यक्ष स्वस्तिक ब्याञ्जूले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने जनाइएको छ । नेपाल आर्मीका तर्फबाट एक सय २० जना सहभागी हुनेछन् । 

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेलाइने छ । यस्तै समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माले प्रतियोगिताको विजेतालाई रु एक लाख, उपविजेतालाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । 

हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजार नगद पाउनेछन् ।  उत्कृष्ट डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही रु १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनार्थ राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संस्थाले सहयोग गरेको छ । 

यसैबीच अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण गर्न धुलिखेलमा जग्गा व्यवस्थान गरिने भएको छ । त्यसका लागि नगरपालिकाले वडा नं १२ स्थित खेल मैदान उपलब्ध गराउने नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । बागमती प्रदेशस्थित खेलकूद विकास परिषद्ले स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिरहेको छ । 

शर्माका अनुसार तीन वर्षमा तीन चरणमा स्टेडियम निर्माण हुनेछ । स्टेडियमको पहिलो चरणमा ग्राउन्ड, दोस्रोमा प्याराफिट र अन्तिममा ‘होस्टेल’ निर्माण हुनेछ । स्टेडियम करिब रु ८० करोडमा तयार हुने अनुमान गरिएको छ । 

शुक्रबार​ १४ बैशाख २०८१ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया