×

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

images

 महोत्तरी, १४ वैशाखः अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई आज बिहान जनकपुरधामस्थित  न्यूरो हस्पिटल तथा रिसर्च सेन्टरले राहत सामग्री प्रदान गरेको छ ।


बुधबार मध्याह्नको आगलागीमा सो बस्तीका एक सय १० घर   जलेका थिए । आगोले अन्य ५० घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो । अग्निपीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । पालिकाले चामल र रु पाँच हजार नगद नगरपालिकाले उपलब्ध गराएको छ । यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ भने मटिहानी–८ का सुनचाँदी व्यवसायी जयशङ्कर गुप्ता र जलेश्वर–२ का मनुराज चौधरीले राहत सामग्री सहयोग गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोेत्तरीले अग्निपीडित परिवारलाई रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

 यसैबीच, सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा डिजन भट्टराई र डढेलोविज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।

टोलीले क्षतिको यकिन गरी  पीडितलाई राहत तथा पुनःस्थापनाका लागि तीनै तहका सरकारसँग समन्वय गरी गरिनुपर्ने कामबारे सुझाव दिने प्राधिकरणले जनाएको छ । बस्तीका अग्निपीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरीदिन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आउनुभएको छ ।
 

शुक्रबार​ १४ बैशाख २०८१ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया