×

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

images

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो।

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे। अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए।

आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन ।

गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।

कांग्रेसको विधानअनुसार हरेक २–२ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हो । पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन ।

बिहीबार १२ माघ २०७९ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया