×

जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हट्यो( सूची)

images

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम हटाएको छ । विभिन्न राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि पेश गरेका ६ हजार ४५७ जनामध्येबाट विभिन्न कारणले अयोग्य ठहरिएका ५५० जनाको नाम हटाउने निर्णय गरेको हो ।

 उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा  र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उल्लेख छ । 

जसमा जरिवाना नबुझाउने ३६९ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, उमेर नपुगेका ५२ जना, सम्बन्धित प्रदेशको मतदाता नभएका १२ जना, फरक लैङ्गिक पहिचान भएका ३७ जना, कागजात नभएका ६ जना, मतदाता नामावलीमा नाम नभएका ६ जना, लाभको पदमा रहेका १ र कालोसूचीमा रहेका १ गरी ५५० जना बन्दसुचीबाट हटेका हुन् ।

राजनीतिक दलहरुले गत असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । यसैगरी आयोगले असोज २३ मा बन्दसूचीमा रहेका उम्मेदवारको सूची प्रकाशित गरेको थियो भने त्यसमाथि छानबिन गरी बन्दसूचीबाट हटाइएको हो । 

प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको थियो ।  जसअनुसार प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको थियो भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको थियो । यसैगरी बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जना, गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जना, लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जना, कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जना र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको थियो ।

यी हुन प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका २०३ जना उम्मेदवार

यी हुन प्रदेशसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका ३४७ जना उम्मेदवार

    

मङ्गलबार ८ कात्तिक २०७९ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया