×

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै , पौडेललाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गर्ने

images

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले अहिले बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची आजै प्रकाशन गरिने जानकारी दिए।

राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउनेछन् । तर निर्वाचित र मनोनयनद्वारा पूर्ति हुने पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।

राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनमा निर्वाचन अधिकृतले जारी गरेको मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम फागुन १४ गते आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी फागुन १५ गते सोमबार निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी निर्णय गर्नेछन् । फागुन १६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

शनिबार १३ फागुन २०७९ ०८:३९ AM मा प्रकाशित

प्रतिक्रिया