काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले यो मुद्दाको अन्तिम सुनुवाइ गरिरहेको हो।
संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्। आजको इजलासमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाइएको छ। लामिछानेविरूद्ध अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको भन्दै मुद्दा परेको हो।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया