×

टिकटकमा भाइरल भएको जेल रेष्टुरेन्ट प्रशासनले गरायो बन्द

images

बुटवल । रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ ।

आमनागरिकको जीवनमा गलत प्रभाव पार्ने प्रकृतिको गतिविधि र दृश्य रेष्टुरेन्टमा देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको हो । उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ।

ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।

उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए। यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।

मङ्गलबार १० माघ २०७९ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया