काठमाडौं । आइसीसी महिला टी २० विश्वकप क्रिकेट ग्लोबल छनोटमा नेपालले पहिलो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा पूजा महतोले अर्धशतकीय पारी खेलिन् ।
पूजाले ५० बलमा ५२ रनको योगदान गरिन् । जिम्बाब्वेका लागि जोसेफिन एनकोमोले २ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। जिम्बाब्वेका लागि केलिस न्ध्लोभु ५२ रनमा नटआउट रहिन् । नेपालका लागि रिया शर्माले २ तथा कविता कुँवर, पूजा महतो, सीता राना मगर, र रुबिना क्षेत्रीले १ १ विकेट लिए ।
नेपाल यसअघि लगातार २ खेलमा पराजित भएको थियो । शनिबार नै भएको खेलमा थाईल्यान्ड पराजित गर्दै स्कटल्यान्डले सुपर सिक्समा पुग्न आफ्नो सम्भावना बलियो बनाएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । समूह बीमा नेपाल पाँचौँ स्थानमा छ । सोही समूहको शीर्ष स्थानमा अविजित रहेको नेदल्यान्डस्, दोस्रो स्थानमा स्कटल्यान्ड र तेस्रो स्थानमा थाइल्यान्ड छ ।पराजित जिम्बाब्वे भने समूह चरणबाटै बाहिरिएको छ ।
प्रतिक्रिया