×

प्रधानमन्त्री दाहालर मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता, मन्त्रालय भागबण्डाबारे छलफल

images

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन्।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री अधिकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम र प्रदेश सरकारको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

माओवादीको समर्थनमा एमाले नेता अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। 

नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।

गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्।

अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।
 

मङ्गलबार १० माघ २०७९ ०९:५७ AM मा प्रकाशित

प्रतिक्रिया