×

माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ- प्रचण्ड

images

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको थियो । प्रचण्डलाई मनाउन नेता सिंहले ‘पावर शेयरिङ’ का आधारमा दोस्रो कार्यकाल प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए ।

‘गठबन्धनको सरकार बनाउने भएपछि पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्नुहोस् । दोस्रो कार्यकतालमा तपाई प्रधानमन्त्री बन्नुस्’ सिंहको भनाइ थियो । तर, सिंहको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको स्रोतले बतायो । प्रचण्डले अरु छलफल गरौंला नै, तर पहिले माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्नुभयो ।’ प्रचण्डलाई भेटेपछि प्रकाशमान सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए ।

गठबन्धन दलबीच सरकार बनाउने सहमति भएपनि नेतृत्वको विषयमा सहमति बन्न सकेको छैन । चुनावी सरकारको नेतृत्व देउवाले गरेको हुनाले प्रचण्डले अब बन्ने सरकारको नेतृत्वमा दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका हुन् । 

नेपाली कांग्रेसले राष्ट्रपति लिने निश्चित जस्तै भइसकेको छ । अब प्रधानमन्त्री समेत पहिलो चरणमा नछाड्ने अडान लिएको छ । तर, माओवादी सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिनेगरी समझदारी नगर्न प्रचण्डलाई दबाब दिएका छन् । गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पद प्याकेजमै सहमति प्रयास जुटाउने गृहकार्य भइरहेको छ ।

शुक्रबार​ ८ पुस २०७९ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया