×

संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा होइन, कथा र बहाना मात्रै हो- प्रचण्ड

images

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाकारुपमा प्रयोग गरेको बताएका छन् । उनले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाए ।

संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’

वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको बताए । उनले भने, ‘कांग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसद्‌मा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’

कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उनले संघीय निजामति ऐन संसदसम्म पुर्‍याउन १८ महिना लागेको, बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताए । 

सोमबार ७ असोज २०८१ ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया