×

शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच पक्राउ

images

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोख्रेलको उपस्थिति रहेको कार्यक्रमस्थल बाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले उच्च शिक्षा क्षेत्रमा व्याप्त राजनीतिक भागबण्डा र नातावादको विरोध गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा युवाहरूले विश्वविद्यालयमा पूर्ण रूपमा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्नुपर्ने, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विद्यमान कानुनी व्यवस्था खारेज हुनुपर्ने तथा शैक्षणिक संस्थामा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने माग राखेका थिए।

कार्यक्रमस्थल बाहिर युवाहरूले नाराबाजी सुरु गरेलगत्तै पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन पाँच जना प्रदर्शनकारीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।

 

बिहीबार ७ साउन २०८३ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया