×

अडियो प्रकरण संसदमा

images

प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताउनुभयो ।

केही दिनअघि सञ्चारमाध्यमबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला यो विषयले सदनमा समेत प्रवेश पाएको छ । 

राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद सिटौलाले भन्नुभयो, “सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने, घर बनाउने, जनता हेरिरहने ?

उहाँले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । “यसका बारेमा सिङ्गो संसद् एकजुट हुनुपर्छ कि पर्दैन रु”, उहाँले सदनमा प्रश्न गर्नुभयो ।

उहाँले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश डुबाउनेहरूलाई खबरदारी गर्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

बिहीबार ९ असार २०७९ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया