×

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख धरौटी माग

images

विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।bसोमबारअदालतमा उपस्थित भएका आचार्यविरुद्ध न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो। इजलासले तोकेको धरौटी रकम नगद बुझाएपछि आचार्य तारेखमा रिहा भएका छन् र अब मुद्दाको पुर्पक्ष बाहिरै बसेर गर्नेछन्।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्व पर्यटनमन्त्रीसहित ५५ जनाविरुद्ध करिब ८ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। मुद्दामा १० पूर्वसचिवसमेत प्रतिवादी छन्।

अख्तियारका अनुसार आचार्यले चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग विमानस्थल निर्माणका लागि २१ करोड ५९ लाख अमेरिकी डलरको सम्झौता गर्न २०७१ जेठ ८ मा अन्तिम स्वीकृति दिएका थिए। त्यसपछि २०७१ असार ३ मा चाइना एक्जिम बैंकबाट सहुलियत ऋण लिन प्रक्रिया अगाडि बढाउने निर्णय पनि उनले मन्त्रीका रूपमा गरेका थिए।

अनुसन्धानले प्रारम्भिक लागत अनुमान १६ करोड ९६ लाख डलरबाट बढेर अस्वाभाविक रूपमा २४ करोड ४० लाख डलर पुगेको दाबी गरेको छ, जसलाई भ्रष्टाचारको आधार बनाइएको छ।

यस मुद्दामा पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य र रामकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत विभिन्न उच्च पदस्थ अधिकारीहरू पनि अभियोगमा तानिएका छन्।

विशेष अदालतका अनुसार आचार्यले धरौटी बुझाइसकेका छन् र अब मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

सोमबार ९ चैत २०८२ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया