×

माओवादीकै पहलमा नागरिकता उपलब्ध हुन्छ : अध्यक्ष दाहाल

images

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गर्नुभयो ।

देशमा माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्दै उहाँले आगामी निर्वाचनमार्फत देशको बागडोर  सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले परिवर्तन र जनताको परिवर्तनको पक्षमा माओवादीले गरेको योगदानलाई पुनः स्थापित गरेरै छाडिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवप्रवेशीलाई उचित जिम्मेवारी दिन आफूले कुनै कसर बाँकी नराख्ने दृढता प्रस्तुत गर्नुभयो । उहाँले पर्सामा कमजोर रहेको माओवादीलाई आजको पार्टी प्रवेशले सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेसमा नै माओवादीले जनयुद्धको समयमा ठूलो बलिदान गरेको स्मरण गर्नुभयो ।  

अध्यक्ष दाहालले  आजको पार्टी प्रवेशले नयाँ उत्साह थप्ने बताउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरू टेकबहादुर शाक्य, सलाउनि अहमद, कृष्णमोहनप्रसाद यादवलगायत दुई दर्जन नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई अध्यक्ष दाहाललगायत नेताहरूले स्वागत गर्नुभएको थियो ।

शुक्रबार​ ६ साउन २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया