×

लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान

images

 

विराटनगर । नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ । शैक्षिक  तथा साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै समाजले आइतबार १५ हजार १०१ रुपैयाँ नगदसहित सम्मान गरेको हो । उहाँका तीन भजन संग्रहका साथै थुप्रै गीत तथा कविताहरु प्रकाशित छन् ।
बिराटनगरका ८६ वर्षीया गिरी अस्वस्थ हुनुभएकोले उहाँकै निवासमा सम्मान अर्पण गरिएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष  श्रीओम श्रेष्ठ रोदनले  स्रष्टाहरु पुरस्कारका लागि  संस्था धाउंदै हिंड्छन्  भन्ने आरोप लागिरहेको बेलामा  स्रष्टा समाज स्रष्टा खोज्दै घर आइपुगेको छ । यसले साहित्यिक क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास  गर्नुभयो ।
उक्त कार्यक्रममा साहित्यकार विवश पोखरेलले स्रष्टा गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा जानकारी दिनुभएको थियो । 
कार्यक्रममा समाजका महासचिव देविका तिमिल्सिनाले संस्थाले ओझेलमा रहेका सर्जकहरुको खोजी गरेर सम्मान गर्दै आएको बताउनु भयो । समाजका कोशी प्रदेश संयोज कृष्ण भण्डारी मार्सेलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा साहित्यकार मन्जुश्री गिरीले उहाँको भजन गाउनुभएको थियो । 
साहित्यकार पुष्पा खनालले आफ्नो आमाको नाममा स्थापना गर्नुभएको यस सम्मानबाट सृजना शर्मा, डिक्रा वादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मानित भैसक्नुभएको छ ।

सोमबार १० बैशाख २०८१ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया