दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने बताएका छन् । आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने पनि उनले बताएका छन् ।
बिहीबार झापाको दमक नगरपालिका-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्वमाओवादी केन्द्र) का नेता गगन पुरीको घर अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।
गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वंश मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए ।
जेन-जीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई ओलीले आश्वस्त पार्न खोजे ।
‘सधैँ अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ, बरू उजरी–निवेदन लगायत प्रक्रिया चाहिँ अघि बढाउनु होला’, उनले भने ।
नेता पुरीले आफूले सबै प्रमाण संकलन गरिसकेको बताउँदै कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको उल्लेख गरेका छन् ।
आगजनी र तोडफोडका क्रममा क्रममा सबै सम्पत्ति लुटिएको, घरायसी सामान जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताए ।
क्षतिग्रस्त घर अवलोकन गर्न पुगेका पूर्वप्रधानमन्त्री ओलीलाई पुरीले फूलले स्वागत गरे । नेता पुरीको घर अवलोकनपछि एमाले अध्यक्ष ओली दमकस्थित तत्कालीन माओवादीको पार्टी अवलोकन गर्दै गौरादहतर्फ लागेका छन्।
प्रतिक्रिया