×

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु

images

क्यालिफोर्निया– अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरुले शनिबार राति १०बजेर २० मिनेट जाँदा आपतकालीन कलको जवाफ दिएका थिए। 

उनले भने, ‘अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए। मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो भने १० जनालाई घटनास्थलमा मृत भेटेको थियो। 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। शङ्कास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले प्रहरीले उसलाई पछ्याइरहेको छ। लस एन्जलस सहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो संख्यामा एशियालीहरूको बसोबास छ।

मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन्। बन्दूक हिंसासम्बन्धी तथ्यंक संकलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको संयुक्त राज्य अमेरिकामा सामुहिकरूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या रहेको छ।

अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामुहिक गोलिकाण्डका रूपमा परिभाषित गरिएको छ। यस घटनाका आरोपी फरार छन्। उनलाई प्रहरी खोजिरहेको छ।

आइतबार​ ८ माघ २०७९ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया