काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । अन्तिम नतिजाबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रतिक्रिया