×

नेप्सेमा गिरावट, कारोबार रकम ८६ करोड ३८ लाख

images

काठमाडौं । पछिल्ला दुई कारोबार दिन बढेको बजार, बुधबार पुनः घटेर बन्द भएको छ। बजार घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ ।

बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से बुधबार भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।

बुधबार नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार पुग्यो । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख ४६ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९५ लाख ९ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३ करोड ८५ लाख ७७ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १४० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ६३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । जसमध्ये आँधीखोला र सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा इस्टन हाइड्रोपावरेको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार ६ पुस २०७९ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया