×

इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर

images

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेको छ। द डनका अनुसार विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो।

प्रमुख निर्वाचन आयुक्तसहित पाँच जनाको इजलासले उक्त मुद्दामा खानलाई  दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो। इजलासका एक जना सदस्य अनुपस्थित थिए।  आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका छन् । आयोगले यस विषयमा आफ्नो फैसला सुनाउँदै पीटीआई अध्यक्ष अब राष्ट्रिय सभाको सदस्य नरहेको बताएको छ।

निर्वाचन आयोगको यो निर्णयपछि उक्त क्षेत्रको शान्ति सुरक्षालाई नियन्त्रण गर्न प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा रेड जोन बनाइएको छ भने एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन आयोगले यस सम्बन्धमा एक सूचना जारी गर्दै सम्बन्धित सबै पक्ष वा उनका वकिललाई इस्लामावादको सचिवालयमा आयोगसमक्ष उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगले दुवै पक्षको बहस सुनेपछि तोसेखाना मुद्दामा भदौ १९ गते निर्णय सुरक्षित राखेको थियो । मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा पाँच सदस्यीय इजलासले यस विषयमा सुनुवाइ गरेको हो ।

निर्वाचन आयोगले पार्टी अध्यक्ष इमरान खानलाई अयोग्य घोषित गरेपछि पीटीआई नेता फवाद चौधरीले निर्वाचन आयोगको निर्णयप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले निर्वाचन आयोगको मनोवृत्ति सबैभन्दा खराब रहेको बताए । ‘हामीले निर्वाचन आयोगमा कहिल्यै आशा राखेका थिएनौँ ।

इमरान खानविरुद्ध निर्वाचन आयोगको यो निर्णय निकै लज्जास्पद छ । आयोगले पाकिस्तानी जनतालाई निराश बनाएको छ । फवादले निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानको संस्थामाथिको आक्रमणको संज्ञा दिएका छन् ।

शुक्रबार​ ४ कात्तिक २०७९ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया