×

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

images

त्रिवेणी (रुकुम पश्चिम), ९ वैशाख : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका¬–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् । 

    आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो । ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार विक र सार्कीको एक¬–एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो ।

ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ । स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो ।  

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण सङ्कलन हुने उहाँले जानकारी दिनुभयो । आगलागीका कारण भने खुलेको छैन । दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन् ।

आइतबार​ ८ बैशाख २०८१ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया