काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ । विहिबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् । त्यस्तै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल भई उक्त मस्यौदालाई आवश्यक संशोधन सहित स्वीकृत गरी नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थिति रहेको थियो ।
२- भारतको दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्धहरूलाई पक्राउ गरिएको छ । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दिल्ली विस्फोट घटनामा थप चार जना पक्राउ परेको भन्दै अहिलेसम्म कुल पक्राउ संख्या ६ पुगेको छ । एजेन्सीले भनेको छ- 'पक्राउ परेकाहरूमा पुलवामा (जम्मू र कश्मीर) का डा. मुजम्मिल शकील गनई, अनन्तनाग (जम्मू र कश्मीर) का डा. आदिल अहमद राथेर, लखनऊ (यूपी) का डा. शाहीन सईद र शोपियान (जम्मू र कश्मीर) का मुफ्ती इरफान अहमद वागे समावेश छन् ।' एजेन्सीले यी व्यक्तिहरूले यस आतंकवादी हमलामा प्रमुख भूमिका खेलेको बताएको छ । यसअघि, एजेन्सीले रशिद अली, जसको नाममा विस्फोट भएको कार दर्ता गरिएको थियो, र जसिर बिलाल वानी, जसलाई प्राविधिक सहयोग प्रदान गरेको आरोप छ । नोभेम्बर १० मा भएको दिल्ली विस्फोटमा १० जनाको मृत्यु भएको थियो र ३२ जना घाइते भएका थिए ।
३- ञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्ने कार्यमा भएको अबरोधको समस्यालाइ ११ बुदे निर्णय गर्दै समाधान गरिएको छ । सरकार र स्थानीयबीच भएको वार्तामा सहमति गरिएको हो । वार्तामा शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका,काठमाडौं महानगरपालिका पदाधिकारी र स्थानीय बासिन्दाको प्रतिनिधिका रुपमा अधिवक्ता सुभास पाठकको सहभागिता थियो ।
४- बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको आजको प्रदर्शन स्थगित भएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासनपछि आजको प्रदर्शन स्थगित गरिएको छ । प्रदर्शन स्थगित भएसँगै अवरुद्ध भएका सडक सुचारु भएका छन् । जेनजी युवाहरुले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताएका छन् । जेनजी युवाहरुले शुक्रबार प्रशासनसँग वार्ता गर्ने भएका छन् । आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए । सो क्रममा प्रहरी हवाई फायरसमेत गरेको थियो । बुधबार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो । त्यसपछि सिमरा अशान्त बनेको छ । प्रशासनले आज दिउसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लगाएको छ ।
५- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजन प्रसाईले मंगलबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।
६- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रचण्डले स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अनुरोध गरेका छन् । प्रचण्डले लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको भन्दै राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
७- भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई बेली ब्रिज हस्तान्तरण गरेका छन् । भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ । पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनस्र्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्वपूर्ण रहेको बताए । सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिबृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्धिपक्षीय साझेदार अझै दह्रो देखिएको बताए । उनले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहायोगका लागि धन्यवाद दिए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सँधै तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेली ब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।
८- नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज धवलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज बुंगल हाइड्रोको शेयर ९.०५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख बराबर कारोबार भएको छ ।
९- नितिश कुमार १०औं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । नितिश कुमारले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । नितिश कुमार नेतृत्वको सरकारमा भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै अन्य २४ मन्त्रीले पनि शपथ लिएका छन् । हालै सम्पन्न निर्वाचनमा एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जितेको थियो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जे.पी. नड्डा, गृहमन्त्री अमित शाह, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत प्रमुख नेताहरू उपस्थित थिए। गान्धी मैदानमा हजारौं मानिसहरू भेला भएका थिए ।
१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो । यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई मुद्दामा विपक्षी बनाउँदै आयोगले आरोप-पत्र दायर गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा बाजुरा हिमाली गाउँपालिका-६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २ सय रुपैयाँ व्यहोर्नेगर कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँ रकममा २०७६ जेष्ठ मसान्तभित्र कार्य सम्मन्न गर्नेगरी स्वास्थ्य कार्यालय र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको थियो । तर तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाले बदनीयत राखी लागत अनुमान बमोजिम काम गरेको भनी झुठ्ठा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयारी गरी गराइ १५ लाख ८ हजार ५५७ रुपैयाँ भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ । कमसल सामान प्रयोग गर्दा भवन भग्नावशेषमा परिणत भइ १५ लाख ८ हजार ५५७ मूल्य बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य अनुसन्धानबाट खुलेको अख्तियारको दावी छ । अख्तियारले १५ लाख ८ हजार ५५७ बिगो र कानुन अनुसार सजाय माग गर्दै मुद्धा दायर गरेको जानकारी गराएको छ ।
११- बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सभामुख पाठकले २०८२ असोज १ गते नै राजीनामा दिएको जानकारी गराएको हो । उनले उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिए । उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।
१२- बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ । आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ । आज विरगंज-पथलैया सडकको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरी ५०० मिटरसम्म कर्फु लगाइएको छ । बुधबार एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले गएराती ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो । विहिबार बिहानै देखि युवाहरु प्रदर्शनमा निस्किएपछि प्रशासनले आजपनि कर्फ्यु लगाएको छ ।
१३- भारतीय क्रिकेट टिमका कप्तान शुभमन गिल गुवाहाटीमा हुने दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन् । कोलकाता टेस्टको दोस्रो दिन नोभेम्बर १५ मा गिलको घाँटीमा चोट लागेको थियो । दिनको खेल समाप्त भएपछि उनलाई मूल्याङ्कनको लागि अस्पताल लगिएको थियो । एक दिनको अवलोकन पछि नोभेम्बर १६ मा उनलाई डिस्चार्ज गरिएको थियो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले स्वास्थ्य अपडेटमा शुभमन गिल द्रुत गतिमा निको भइरहेको बताएको छ । उनी नोभेम्बर १९ मा टोलीसँग गुवाहाटी जानेछन् र मेडिकल टोलीले उनको अवस्थाको निगरानी जारी राख्ने बताएको छ । मिडिया रिपोर्टका अनुसार, उनको अनुपस्थितिमा ऋषभ पन्तले टोलीको कप्तानी गर्नेछन् । कोलकातामा भएको पहिलो टेस्टमा टोलीको हारलाई ध्यानमा राख्दै यो निर्णय भारतको लागि ठूलो क्षति मानिएको छ । नोभेम्बर २२ देखि २६ सम्म गुवाहाटीमा खेलिने दोस्रो टेस्ट महत्वपूर्ण छ ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगितको निवेदन परेपछि सुनुवाइ रोकिएको हो । सुनुवाइका लागि आज न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो । यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो ।
१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको छ । रास्वपाले सह–महामन्त्री श्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक बनाउने निर्णय गरको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकले रुपन्देही-३ मा यसअघि उपनिर्वाचनका लागि तय गरिएको उम्मेदवार डा. लेखजंग थापालाई नै कायम राख्ने निर्णय गरेको छ ।
१६- टेस्लाका सिईओ एलन मस्क अमेरिकी राजनीतिको केन्द्रमा फर्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आमने सामने भएको लगभग छ महिनापछि नै उनी ट्रम्प क्याम्पमा फर्किएको विश्वास गरिएको छ । हालै मस्क राजधानी वाशिंगटनमा ह्वाइटहाउसको कार्यक्रममा उपस्थित भए । मस्कले साउदी युवराज मोहम्मद बिन सलमानको सम्मानमा आयोजना गरिएको ट्रम्पको राजकीय रात्रिभोजमा पनि भाग लिए । मस्कलाई ट्रम्पसँगको विवाद सुल्झाउन र क्याम्पमा फर्काउन उपराष्ट्रपति जेडी भेन्सले भूमिका खेलेको बताइएको छ । भेन्स र मस्कको सम्बन्ध निकै राम्रो रहेको र मस्कले २०२८ मा भेन्स राष्ट्रपतिको उम्मेदवार बनेमा सहयोग गर्ने यसअघि नै बताएका थिए । यसैबीच मस्कले आफ्नै राजनीतिक दल बनाउने योजना पनि रद्द गरेका छन् । मस्कले २०२६ को मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई समर्थन र कोष दिने पनि बताएका छन् । यसले उनी टकरावको बाटो होइन, मित्रताको बाटो रोजिरहेका छन् भन्ने संकेत गर्छ । मे महिनामा मस्कले वाशिंगटन छोड्दा, तस्वीर आजको भन्दा पूर्ण रूपमा फरक थियो । त्यतिबेला, मस्क ट्रम्प प्रशासनको बिग ब्युटिफुल बिल र नासा प्रमुखको रूपमा उनका नजिकका सहयोगी जेरेड आइज्याकम्यानको नियुक्ति नभएकोमा असन्तुष्ट थिए ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि वुधबार चाँदी तोलाको ३१५० मा कारोबार भएको थियो ।
१८- नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भनिएको बैठक मङ्सिर ६ गते शनिबार दिउसो १ बजेसम्मका लागि स्थगित बको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । यसैबीच गत शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र ठोस सहमति भने हुन अझै नसकेको बुझिएको छ ।
१९- नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा राजनीतिक रूपमा एमाले एक्लिएको भन्दै यसको गम्भीर समिक्षा हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पछिल्लो समय प्रदेस प्रमुख बर्खास्तीमा परेको, मुख्यमन्त्रीको पद धरापमा परेको र सभामुख समेत निलम्बनमा परेको भन्दै प्रदेशको सबैभन्दा ठुलो दल एमालेको अवस्था किन यस्तो भयो भन्दै प्रश्न गरेका छन् । उनले मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको र पार्टीको सार्वजनिक छबिमा गम्भीर प्रश्न उठेको बताएका छन् ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग भेटवार्ता गर्ने भएका छन् । ट्रम्पले न्यूयोर्कका मेयर ममदानीसँग भेट्ने जानकारी दिएका हुन् । ममदानीले भेटका लागि अनुरोध गरेको र आफुहरु नोभेम्बर २१ मा ह्वाइटहाउसमा भेट्न सहमत भएको ट्रम्पले जानकरी द्येका छन् । ट्रम्पले मेयर चुनाव अघि मानिसहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न आग्रह गरेका थिए र उनले ममदानीलाई निर्वाचित गरेमा शहरको कोष घटाउने चेतावनी समेत दिएका थिए । आफ्नो मेयरको जित पछि, ममदानीले आफ्नो भाषणमा राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए । ममदानीको विजयको भोलिपल्ट, ट्रम्पले मानिसहरू न्यूयोर्क छोडेर जाने टिप्पणी गरेका थिए ।
प्रतिक्रिया