×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता शुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भेटवार्ता शुरु भएको हो । यस भेटमा पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमन बारे छलफल हुदैछ । दुवै नेताबीच हुने यस भेटवार्तालाई एमालेका नेता कार्यकर्ताले विशेष चासो दिएका छन् । पार्टीका शिर्ष नेताहरु यस भेटवार्तालाई नजिकबाट हेर्न पार्टी कार्यालय च्यासल पुगेका छन् । यस भेटवार्तालाई भण्डारीको राजनीतिमा पुनरागमनको दिशा तय गर्ने भेट भनिएको छ ।

२- निर्वाचन आयोगले कार्तिक १७ गते रुपन्देही-३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । आयोगले सार्बजनिक गरेको कार्यक्रम अनुसार आगामी असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता को कार्यक्रम हुनेछ । आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

३- राप्रपाभित्र विआद बढिरहेका बेला तीन पदाधिकारीले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई विधान विपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हठात पदमुक्त गर्ने निर्णय अस्वीकार्य भएको बताएका छन्  । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्ती शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको घटनाले पार्टीको प्रजातान्त्रिक छवीमा आँच आएको भन्दै यस्तो स्वेच्छाचारिता अस्वीकार्य रहेको उल्लेख गरेका छन् । 

४- नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।  

५- मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै भारतीय नम्बर प्लेटको गाडीमा ढुंगा खस्दा तीन जना घाइते भएका छन् । भारतीय युपी ८० जीपी २९२८ नम्बरको कारमाथि ढुंगा खस्दा कारमा सवार तीन जना घाइते भएका छन् । कारमा पाँच जना सवार रहेको बताइएको छ ।

६- श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपको ड्र सार्बजनिक भएको छ । आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ‘ए’मा परेको छ । समूह ए मा नेपालसँगै श्रीलंका र बंगलादेश रहेका छन् ।  त्यस्तै समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दक्षिण एसियाका सात देश सहभागी हुने प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने भएको छ । प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ । 

७- सिरियाको ड्रुज बहुल स्वेइडा क्षेत्रमा भएको साम्प्रदायिक हिंसामा ९४० जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार हिंसाका क्रममा मेसिन गन र मोर्टार गोलाबारीका आवाजहरू सुनिएको थियो । धेरै दिनको हिंसा पछि, इस्लामिक नेतृत्वको सरकारले युद्धविराम लागू गर्न असफल भएको छ । हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको सामान्यबाट शुरु भएको झडप हिँसामा परिणत भएको थियो । रोयटर्सका अनुसार, हताहतको स्पष्ट संख्याको पुष्टि अझै भएको छैन । तर विभिन्न रिपोर्टमा ९४० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

८- साउदी अरबका प्रसिद्ध 'स्लिपिङ प्रिन्स' खालिद बिन तलाल अल-साउदको ३६ वर्षको उमेरमा निधन भएको छ । विगत २० वर्षदेखि कोमामा रहेका राजकुमार अल-वलीदको शनिबार मृत्यु भएको हो । उनको परिवारले उनको मृत्युको बारेमा जानकारी दिएको छ । लन्डनमा कार दुर्घटनापछि राजकुमार खालिद विगत २० वर्षदेखि कोमामा थिए । उनका बुबा राजकुमार खालिद बिन तलाल बिन अब्दुल अजीजले उनको मृत्यु बारे जानकारी दिएका छन् ।

९- नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीले प्रदान गर्ने आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ । क्यानले क्षेत्रीय विजेताको रूपमा रहेका अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिक बाट इन्डोनेसियालाई पछि पर्दै आइसीसीको डेभलपमेन्ट क्यटोगेरी अन्तर्गतको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको हो । योसँगै नेपाल क्रिकेट संघले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको छ ।

१०- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी भदौ ३१ मा हुने भएको छ । भारतबाट निमन्त्रणा अनुसार दुई दिने भ्रमणको तालिका  तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको हो । भ्रमणको तालिका तय भएपछि दुवै पक्ष यस भ्रमणका एजेण्डा तय गर्न लागिरहेको बताइएको छ । यस अघि प्रधानमन्त्री नियुक्त भएको केहि महिनामै भारत भ्रमण हुने गरेकोमा प्रधानमन्त्री ओली अन्तत: आफ्नो कार्यकालको करिब १४ महिना पछि भारत जाने भएका छन् ।

११- नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा गरेका छन् । प्याट्रिकले केही दिनअघि इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राजीनामा पठाएको बताइएको छ । एन्फा स्रोतले इमेल मार्फत वाइल्डले राजीनामा दिएको तर एन्फाले अझै निर्णय गरिनसकेको बताएको छ । वाइल्ड उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोट प्रतियोगितापछि नेपाल नआएर सिधै बेल्जियम गएका थिए । 

१२- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल प्रिमियर लिग (एनपीएल) सहित नेपाली क्रिकेटको रोडम्याप प्रस्तुत गरेका छन् । खड्काले सिंगापुरमा जारी आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलको पहिलो सिजनको सफलतासहित नेपाली क्रिकेटको वर्तमान र भविष्यको योजना बारे प्रस्तुति दिएको जानकारी गराएका छन् ।  सचिव खड्काले प्रस्तुतिबारे जानकारी दिँदै भनेका छन्- ‘नेपाल क्रिकेट संघ (क्यान)को तर्फबाट हामीले गत वर्ष  गरेको एनपीएलले पारेको प्रभाव र पूर्ण क्रिकेट राष्ट्र बन्ने दिशामा हामीले गरिरहेको प्रगति प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई धन्यवाद दिन चाहन्छौँ ।’

१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सयले बढेर तोलाको एक लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९२ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१४- भियतनाममा खराब मौसमका कारण पर्यटकहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा यो घटनापछि धेरै मानिसहरू अझै बेपत्ता रहेको रिपोर्टमा उलेल्ख छ । धेरैजसो यात्रु भियतनामको राजधानी हनोईबाट आएका थिए । दुर्घटनापछि ११ जनालाई पानीबाट जीवितै निकालिएको उद्धारकर्मीहरूले बताएका छन् ।

१५-  अमेरिकामा एक यात्रुवाहक विमानको आपतकालीन अवतरण गरिएको छ । रिपोर्टका अनुसार, डेल्टा एयरलाइन्सको बोइङ विमान शुक्रबार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टाका लागि उडेको थियो, तर उडान भरेको केही समयपछि नै यसको एउटा इन्जिनमा आगो लागेको थियो । यसपछि, विमान आपतकालीन अवतरणको लागि फर्कनुपर्‍यो । घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा बोइङ ७६७-४०० विमान हावामा देख्न सकिन्छ र यसको बायाँ इन्जिनबाट आगो निस्किरहेको छ । विमान धावनमार्गमा अवतरण गरेपछि, अग्निनियन्त्रकहरूले इन्जिनमा लागेको आगो नियन्त्रण गरेका थिए । यस घटनामा विमानमा रहेका सबै यात्रू सकुशल रहेका छन् ।

१६- भारत र पाकिस्तानबीच हुने विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द गरिएको छ । भारतीय खेलाडीहरूले आफ्नो नाम फिर्ता लिएपछि आयोजकहरूले यो निर्णय लिएका हुन् । विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै खेल नहुने जानकारी दिएको हो । भारतीय खेलाडीहरु शिखर धवन, सुरेश रैना र हरभजन सिंह जस्ता अनुभवी खेलाडीहरूले यो खेल बहिष्कार गरेपछि खेल स्थगित भएको बताइएको छ । शिखर धवनले यस विषयमा जानकारी दिदै आफुले पाकिस्तानविरुद्धका कुनै पनि खेल नखेल्ने स्पष्ट गरेका छन् ।

१७- इङल्याण्डका फरवार्ड मार्कस राशफोर्ड बार्सिलोना जाने भएका छन् । राशफोर्डलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडबाट लोनमा भित्र्याउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।  राशफोर्डलाई भित्र्याउने विषयमा मौखिक सहमति भएको र अब छिट्टै मेडिकल हुने दाबि गरिएको छ ।

१८- प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न आग्रह गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् ।

१९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन बैद्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । पछिल्लो केहि महिनादेखि अस्वस्थ रहेका वैद्यलाई प्रचण्डले उनकै निवास पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । प्रचण्डले बैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको बताउदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०- जर्मनी जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १-१ गोल गरेका थिए । खेलको १३औं मिनेटमा नै काथरिन हेनड्रीचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो ।  निर्धारित ९० मिनेटमा १-१ गोल को बराबरीपछि थपिएको ३० मिनेटको समयमा दुवैबाट गोल हुननसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । अब सेमिफाइनलमा जर्मनीले स्पेनको सामना गर्ने छ । यो सेमिफाइनल जुलाई २३ मा हुने छ । त्यस्तै पहिलो सेमिफाइनल खेल जुलाई २२ मा इङल्याण्ड र स्पेनबीच हुने छ । 

आइतबार​ ५ साउन २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया