काठमाडौं । गोली प्रहार गरी प्रहरीले तीन ‘लागुऔषध कारोबारी’लाई नियन्त्रणमा लिएको छ । शनिबार (असार ६) काठमाडौं महानगरपालिका–३२, बालकुमारीमा एक राउन्ड गोली प्रहार गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीका २५ वर्षीय अशोक भुल, सप्तरीका २० वर्षीय निरजकुमार मण्डल र पर्साका ३९ वर्षीय किशोरप्रसाद ओझैया छन् । उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेका ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार, बालकुमारी पुलमुनि भारतको वासमतियाबाट खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो । नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी उनीहरू भागेका थिए ।
त्यसपछि प्रहरीले ‘चेतावनीस्वरूप’ दुई राउन्ड हवाईफायर गरेको थियो । तर, उनीहरू रोकिएनन् । भागिरहे । अनि, ओझैयाको दाहिने घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
“साथै, गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टमा पुर्याई उपचार भइरहेको,” एसपी रेग्मीले भनेका छन् ।
ओझैया यसअघि लागुऔषध मुद्दामै तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरी ०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेका उनले जानकारी दिए ।
उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन ३०० ग्राम र चारथान मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया